
वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ ।
अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक भएका छन् ।
सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो ।
सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए ।
प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ ।
यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो ।
ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका थिए ।
उनी स्वयं लडाकू बिमानका पाइलट रहनुका साथै उनले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाएका थिए ।
ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए ।
उनले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन् । उनले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए ।
सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् । रासस/एपी
प्रतिक्रिया दिनुहोस्