१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


‘अफ सिजन’मा पर्यटक प्रवेश शुल्कबाट ३२ लाख राजस्व


39
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ ।

‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरुबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी विष्णु रोकायकाअनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । असारमा ८५७ विदेशी र १८ नेपाली, साउनमा ३२३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ ।

‘अफ सिजन’ मा भ्रमण गर्न आउने विदेशी पर्यटकहरुमा भारत, युके, स्पेन, चीन लगायतका बढी छन् । निकुञ्जले सार्क मुलुकका पर्यटकलाई प्रतिब्यक्ति एक हजार पाँच सय रुपियाँ, अन्य मुलुककालाई तीन हजार रुपियाँ र नेपालीलाई एक सय रुपियाँ शुल्क लिने गरेको छ । यसअघि मनसुनको सिजनमा पर्यटक आवागमन ठप्प नै हुने गरेको यस क्षेत्रमा यस वर्ष भने ‘अफ सिजन’मा १५ देखि २० जनासम्म पर्यटक दैनिक प्रवेश गर्ने गरेकोे सूचना अधिकारी रोकायले बताउनुभयो ।

जसका कारण निकुञ्जका कर्मचारीहरुमा ब्यस्तता बढेको छ भने खुम्बुका होटल, पसल तथा पर्यटन व्यवसायहरु समेत चलायमान बन्दै गएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । लामो समय कोरोनाका कारण घर तथा कोठाभित्रै सीमित बन्नु परेकाले पछिल्लो समय भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको अनुमान गरिएको छ । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत्र अन्तिमबाट जेठसम्म र असोजदेखि मङ्सिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।