
काठमाडौं । व्यक्ति हत्याको आरोपमा अमेरिकाको मिनियापोलसका एक पूर्व प्रहरी अधिकारी पक्राउ परेका छन् ।
अश्वेत व्यक्ति जर्ज फ्लोइडको हिरासतमै निधन भएको घटनामा डेरेक चुभन पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रहरी अधिकारीमाथि फ्लोइडको हत्या अभियोगमा दर्ता भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
गत सोमबार प्रहरीले फ्लोइडलाई पक्राउ गर्ने क्रममा बाटोमा लगेर उनको घाँटीमा घुँडाले थिचेको आरोप लगाइएको छ ।
फ्लोइडले ‘मलाई सास फेर्न गाह्रो भयो’ भन्दा पनि ती प्रहरी अधिकारीले घाँटीबाट घुँडा नहटाएपछि हिरासतमै फ्लोइडको निधन भएको अमेरिकी सञ्चारमध्यमहरुले जनाएका छन् ।
उनको घाँटी थिचेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मिनेशोटाको मिनियापोलस प्रहरीले चार अधिकारीलाई बर्खास्त गरेको थियो ।
बर्खास्त गरिएका मध्ये फ्लोइडको घाँटी घुँडाले थिच्ने प्रहरी अधिकारी पक्राउ परेका हुन् ।
फ्लोइडको हत्या भएको भन्दै मिनेशोटासहित अमेरिकाका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।
मिनियापोलसमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यस्तै लुटपाट पनि मच्चिएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर पनि प्रदर्शन भयो ।
मिनियापोलसको ट्वीन बजारमा कर्फ्यू लागु गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्