१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


ग्रीनल्याण्डमा भईरहेको भारी हिउँ स्खलनका कारण समुद्री सतह एक फूट बढ्ने निष्कर्ष


3.328k
Shares

काठमाडौं । पृथ्वीको सबैभन्दा ठूलो द्विप ग्रीनल्याण्डमा भारी मात्रामा हिउँ पग्लिने क्रम बढेकाले निकट भविष्यमा समुद्री सतह कम्तिमा एक फुटले बढ्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन् ।

पृथ्वीको तापक्रम बढाउने प्रदूषण आजैदेखि ठप्प पारे पनि उक्त खतरालाई रोक्न नसकिने ठोकुवा पनि उनीहरूले गरेका छन् ।

नेचर क्लाईमेट चेञ्ज जर्नलमा सोमबार प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार ग्रीनल्याण्डमा भईरहेको भारी मात्राको हिउँ स्खलनले विश्वब्यापी रुपमा समुद्री सतह कम्तिमा दश ईञ्चले बढ्ने ठोकुवा गरिएको छ । यो भनेको विगत एक सय वर्षमा ग्रीनल्याण्ड र अन्टार्टिकामा पग्लिएको हिउँ तथा पृथ्वीमा बढेको तापक्रमको समग्र असर बराबर हो ।

अनुसन्धानमा जुटेका वैज्ञानिकहरूले ग्रीनल्याण्डमा एक सय दश ट्रिलियन टन बराबर अर्थात तीन दशमलव ३ प्रतिशत हिउँ पग्लिंदै गरेको निष्कर्ष पनि निकालेका छन् ।

गत जुलाई १५ देखि १७ का बीचमा अस्वभाविक रुपमा बढेको तापक्रमले ग्रीनल्याण्डमा ७२ लाख वटा ओलम्पिक साइजका स्वीमिङ पुल बराबरको ६ अर्ब टन पानी प्रतिदिन उत्पादन भएको पनि वैज्ञानिकहरुको ठहर छ ।

अध्येता वैज्ञानिकहरूले समुद्री सतह त्यसरी कहिलेसम्म बढ्ला भनेर ठ्याक्कै समय नतोके पनि आजैदेखि र यो शताब्दीको अन्त्यसम्म जहिले पनि यो परिवर्तन देखिने बताएका छन् । तर, आगामी तीस वर्षमा अमेरिकी समुद्री किनारहरू दशदेखि १२ ईञ्चले बढ्ने चेतावनी भने दिइएको छ । जसका कारण ठूल्ठूला आँधी, बाढीहरु अहिलेको भन्दा दश गुणा बढी ब्यहोनुपर्ने चेतावनी पनि वैज्ञानिकहरुले दिएका छन् ।

ग्रीनल्याण्डको सबै हिउँ पग्लियो भने समुद्री सतह २५ फिट बढ्ने छ । तर, विश्वभरी एकैनाशले समुद्री सतह नबढी पृथ्वीको कुनै भाग जलैजलमा परिणत हुनसक्छ भनिएको छ ।