
काठमाडौं, जेठ १३ । राष्ट्रिय मानव अधिकार आयोगले पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।
आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय कानून विपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्ठा भनेको छ ।
आयोगले घटनामा प्रभावकारी अनुसन्धानका लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको बताएको छ ।
१० जेठ, शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको थियो । घटनामा तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्