Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बैतडीमा चितुवाको आक्रमणबाट २ जना घाइते


325
Shares

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बैतडीको शिवनाथ गाउँपालिका-६ बसेडीका १३ वर्षीय पारस धनाडी र सोही ठाउँका ६८ वर्षीय बहादुर दमाई रहेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पारसलाई मंगलबार बिहान विद्यालय जाने क्रममा र बहादुरलाई साेमबार राति ९ बजे शौचालय जाने बेला चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट पारसको टाउको र पिठ्युमा र बहादुरको खुट्टा र तिघ्रामा घाउ भएकाे उहाँले बताउनुभयाे । घाइते दुबै जनालाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकाे पनि उहाँले बताउनुभयाे ।

चितुवाले आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित बनेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लगातार रुपमा चितुवाले आक्रमण गरेपछि विद्यालय जाने नानीबाबुका साथै यहाँका नागरिक त्रसित बनेका छन् ।’

वनजंगल विनास हुँदै गएका कारण चितुवा मानव बस्ती पसेर मानिसलाई आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जंगल नष्ट हुँदा बासस्थान कमी हुन गएको छ । आहारका लागि पनि गाउँ पस्ने गर्दछन्, यसले मानव र वन्यजन्तुबीच द्घन्द्घ पनि हुन्छ जान्छ ।’

वि.स २०६८ यता बैतडीमा चितुवाको आक्रमणबाट २५ र जंगली बदेलको आक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।