
काठमाडौं, जेठ ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्ष २६ लाखलाई रोजगारी मिल्नेगरी सरकारले काम गरिरहेको दाबी गरे ।
नेपाल उद्योग परिसंघले बुधबार गरेको भर्चुअल अन्तक्र्रियामा उनले उक्त दाबी गरे । स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न उनले आग्रह गरे ।
मन्त्री पुनले सरकारले महामारीकै बीचमा जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सञ्चालन गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी गर्न सक्ने व्यवस्था मिलाएको बताए ।
कोरोना महामारी कहिलेसम्म रहन्छ भनेर अनुमान गर्न सक्ने विषय नरहेको भन्दै उनले संकटकै बीच जीवन खोज्ने काममा अभ्यस्त हुनुपर्ने पनि बताए ।
महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उनले उल्लेख गरे ।
यसरी, नेपालमा रोजगारी गुमाएका ११ लाख र हरेक वर्ष श्रम बजारमा थपिने पाँच लाखसमेत गरेर २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको मन्त्री पुनले दाबी गरे ।
महामारीका कारण धेरैको ध्यान कृषिमा गएको र कृषि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्न सकिने देखिएको भन्दै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइ र कृषि मन्त्रालय मिलेर त्यसका लागि गृहकार्य गरिरहेको बताए ।
कृषिका लागि सिँचाइ पहिलो आधारभूत शर्त भएकाले आगामी आर्थिक वर्षको बजेटमा सिँचाइलाई प्राथमिकतामा राखिएको मन्त्री पुनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्