Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोनाबाट अमेरिकामा साढे ९३ हजारको मृत्यु, ट्रम्प भन्छन्–सर्वाधिक संक्रमित हुनु सम्मानको पदक


0
Shares

एजेन्सी, जेठ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सर्वाधिक कोरोना भाइरस संक्रमित पुष्टि हुनु एउटा सम्मानको पदक भएको तर्क गरेका छन् ।

कोभिड–१९ का कारण अमेरिकामा साढे ९३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका समयमा राष्ट्रपति ट्रम्पले अमेरिकामा विश्वमै बढी कोरोना भाइरस संक्रमित पुष्टि हुनु सम्मानजनक विषय भएको टिप्पणी गरेका हुन् ।

अमेरिकामा कोरानाको प्रकोप शुरु भएपछि ह्वाइटहाउसमा पहिलो पटक क्याबिनेट बैठक राख्दै उनले भने, ‘म यसलाई निश्चित सम्मानको रुपमा देख्छु, यो एक राम्रो कुरा हो कि, यसको मतलब हाम्रो परीक्षण धेरै राम्रो छ ।’

संवाददाताहरुसँग ट्रम्पले भने, ‘तपाईहरु भन्नुहुन्छ नि अमेरिकाले मुद्दाहरुमा नेतृत्व गर्नुपर्छ, हो अरुलेभन्दा बढी व्यक्तिको परीक्षण गरेर हामीले यसको नेतृत्व गरेका छौं ।’

उनले भने, ‘हामीमा सबैभन्दा बढी संक्रमित रहेको विषयलाई म खराब रुपमा लिन्न । बरु यसलाई एक प्रकारको सम्मानका रुपमा हेर्छु । किनकी यसको मतलब हुन्छ, हामीले गरेको परीक्षण धेरै राम्रो छ ।’ ट्रम्पले थपे, ‘त्यसैले यसलाई म एक सम्मानका रुपमा लिन्छु । यो साच्चिकै एक सम्मानको पदक हो ।’

अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार व्यक्ति कोभिड १९ बाट संक्रमित रहेका छन् ।