२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


चक्रवात अम्पुनः आँधीका कारण बंगलादेशका फेरी सेवाहरू अवरूद्ध


0
Shares

ढाका, जेठ ६ । बंगलादेशले ‘अम्पुन’ नाम दिइएको आँधीका कारण कैयौं प्रमुख जलमार्गहरूमा फेरी सेवा अवरूद्ध बनेका छन् ।

बंगलादेशको आन्तरिक जल यातायात कर्पोरेसनकाअनुसार आँधीका कारण प्रभावित बनेका जलमार्गहरूमा पाटुरिया–दौलतदिया, शिमुलिया–काथलबारी, चन्दपुर–शरितपुर, भोला–लक्ष्मीपुर र भेदुरिया–लाहारहट रहेका ‘ढाका ट्रिबुन’ले जानकारी गराएको छ ।

बंगलादेश मौसमविज्ञान विभागद्वारा मंगलबार जारी विशेष बुलेटिनमा अम्पुनले पश्चिम–मध्य बंगाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २२५ किलोमिटर प्रतिघन्टाको गतिमा अघि बढेको बताइएको छ ।

अम्पुन उत्तरबाट उत्तरपूर्व दिशा हुँदै मध्यरातमा खुल्ना–चट्टोग्राम पुग्ने र यसको प्रभाव बुधबार साँझसम्म रहनेछ ।

‘सुपर साइक्लोन’को केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ ।

सामुद्रिक तटनजिकमा रहेका गाउँका करिब १२ हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने तयारी भएको छ ।

विभागले माछा मार्न प्रयोग हुने सबै डुंगा तथा माझीहरूलाई तत्काल उत्तरको खाडीबाट सुरक्षित स्थानमा जान र अर्को सूचना जारी नहुँदासम्म नफर्कन निर्देशन दिएको छ ।

अम्पुनको उत्तरपूर्वी भारतमा निकै प्रभाव पार्ने र यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रमा समेत पर्ने बताइएको छ । रासस/एएनआई