१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि


0
Shares

काठमाडौं, भदौ १ । भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको शुक्रबार पूर्णराजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

नयाँदिल्लीस्थित यमुना नदीको किनारको स्मृतिस्थलमा बाजपेयीको अन्त्येष्टि गरिएको हो ।

त्यसअघि, स्मृतिस्थलमा परिवारजन र उच्चपदस्थ व्यक्तिहरुले स्व. बाजपेयीप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत विभिन्न देशबाट अन्त्येष्टिमा सहभागी हुन गएका विदेशी पाहुनाहरुले पनि सोही स्थलमा श्रद्धाञ्जलि दिएका थिए ।

भारतीय सेनाका स्थल, जल र हवाई सेनाका टुकडीहरुले स्वर्गीय बाजपेयीप्रति सम्मानगारद अर्पण गरेका थिए ।

त्यसअघि, शुक्रबार बिहान ११ बजेदेखि बाजपेयीको पार्थिव शरीर दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, गृहमन्त्री राजनाथ सिंहलगायत भाजपका नेता, कार्यकर्ता तथा सर्वसाधारणले बाजपेयीलाई श्रद्धाञ्जलि दिएका थिए ।

भाजपा मुख्यालयबाट शुक्रबार दिउँसो शवयात्रासहित पार्थिव शरीर यमुना नदी किनारको स्मृतिस्थलमा पुर्‍याइएको थियो ।

लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको बिहीबार उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा ९३ वर्षको निधन भएको थियो ।

बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए ।

भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले सम्मानित बाजपेयीको निधनमा सात दिनसम्म औपचारिक कार्यक्रम नगरी शोक मनाइने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भारत सरकारले गरेको छ । (एजेन्सी)