
काठमाडौं, जेठ ५ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशदेखि सबै १९ जना न्यायाधीश संलग्न रहेको एउटै इजलाश गठन गरिएको छ ।
सोमबारका लागि १९ जना न्यायाधीश रहेको पूर्ण इजलाश गठन गरिएको हो । १९ सदस्यीय पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरादेखि सबैभन्दा कनिष्ठ न्यायाधीश मनोजकुमार शर्मासम्म रहेका छन् ।
कोरोनाले मुलुकलाई दुई महिनादेखि लकडाउनमा राखेको र त्यसले मुद्दा मामिलामा परेको अप्ठेरो फुकाउनका लागि सर्वोच्च अदालतले सबै न्यायाधीश रहेको यस्तो ऐतिहासिक इजलाश गठन गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
सर्वोच्चले आफ्नो वेभसाइटमा इजलाश गठन र न्यायाधीशहरुको नाम पनि सार्वजनिक गर्दै हेर्ने मुद्दाको पनि जानकारी दिएको छ ।
जसमा मुद्दा तथा रिट महाशाखाको प्रतिवेदन र परमादेशसम्बन्धि रहेको छ । प्रधानन्यायाधीशसहितको वृहत पूर्ण इजलाशले मुद्दा सुनुवाई गरेपछि हाल न्यायिक प्रक्रियामा देखिएका बाधा अड्चन फुकाउमा निर्णय गर्नसक्ने पोखरेलले इमेजखबरलाई जानकारी दिए ।
यस्तो सबै न्यायाधीश सम्लग्न रहेको इजलाश बिरलै बस्ने जानकारहरु बताउँछन् । लकडाउनले मुद्दा प्रक्रियालगायत न्यायालयमा पारेको अफ्ठ्यारोबारेको प्रतिवेदन सर्वोच्च प्रशासन स्वयंले दर्ता गराएको हो ।
प्रतिक्रिया दिनुहोस्