Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


कैलालीमा बाघको छालासहित ४ जना पक्राउ


156
Shares

कैलाली । कैलालीमा बाघको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहिबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्रसिंह भण्डारी रहेका छन्। उक्त बोलेरो जिप बुडरबाट धनगढी तर्फ आइरहेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेशप्रकाश जोशीका अनुसार उनीहरुलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको छ।

पक्राउ परेका सबैलाई थप कारबाहिका लागि जिल्ला वन कार्यालय कैलाली पठाइने प्रहरीले जनाएको छ।