काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ ।
नेपाल समाचारपत्रसँग मंगलबार कुरा गर्दै प्याब्सनका अध्यक्ष डीके ढुंगाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालयमा डीआई राखेर विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी झोला बोकाउने, मादक पदार्थ सेवन गरेर विद्यालय बस चलाउनेलगायतका विकृति अन्त्य हुनुपर्ने बताउनुभयो ।
अहिलेको २१ औं शताब्दीमा पनि डीआई राखेर विद्यार्थीलाई कारबाही गर्नु उचित नभएको भन्दै प्याब्सनका अध्यक्ष ढुंगानाले भन्नुभयो– ‘हामीले सबै विद्यालयलाई डीआई नराख्न, मापसे गरेर सवारी नचलाउन र विद्यार्थीलाई किताबको भारी नबोकाउन जानकारी गराएका छौं ।
यदि डीआई राखेर विद्यार्थीलाई यातना दिएमा आचारसंहिताविपरीत हुनेछ, त्यस्तो विद्यालयलाई हामी तत्काल कारबाही गर्नेछौं ।’ उहाँले यी विषयमा प्याब्सनले तत्काल सूचना जारी गरी विद्यालयलाई सचेत गराउने पनि बताउनुभयो । पछिल्लो समय इमाडोलस्थित युनाइटेड स्कुलका डीआईले विद्यार्थी पिटेको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि निजी विद्यालयको छाता संगठनले सबै विद्यालयलाई डीआई नराख्न सुझाव दिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्