Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


भेरी अस्पतालमा बेथिति, बिरामी मारमा


377
Shares

काठमाडौं । बिरामी बुवा लिएर बाँकेको राप्ती सोनारी–५ बिनौनाका लक्ष्मण थारू बिहीबार बिहान ११ बजेतिर भेरी अस्पताल पुगे । उच्च रक्तचापका बिरामी उनका बुवाको स्वास्थ्य जाँच गरिसकेपछि डाक्टरले तत्कालै सिटी स्क्यान गराउन सल्लाह दिए ।

डाक्टरको सल्लाहअनुसार लक्ष्मण भेरी अस्पतालकै सिटी स्क्यान विभागमा पुगे । तर त्यहाँ सिटी स्क्यान गर्ने कर्मचारी थिएनन् । ड्युटी छाडेरै कर्मचारी बाहिर निस्केका थिए । त्यसपछि लक्ष्मण सिटी स्क्यान गर्ने कर्मचारीलाई खोज्न भौंतारिरहे ।

अस्पताल परिसरमा विभागका रेडियोग्राफर सञ्जीवकुमार मिश्र भेटिए । तर उनले सिटी स्क्यान गर्न नसक्ने अनेक बहानाबाजी गरे । ‘उहाँले कहिले भोलि आउनुस्, कहिले मसँग सिटी स्क्यान कक्षको चाबी छैनजस्ता बहानाबाजी गर्नुभयो, धेरै अनुरोध गर्दा पनि उहाँले सिटी स्क्यान गर्न मान्नुभएन,’लक्ष्मणले भने ।

रेडियोग्राफर मिश्रले सिटी स्क्यान गर्न नमानेपछि लक्ष्मणले अस्पतालको माथिल्लो निकायमा गुनासो पोखे । उनी नेपाली कांग्रेस प्रदेश १ ‘क’ बाँकेका सभापति हुन् । तर कर्मचारीसँग भने लक्ष्मणले आफ्नो परिचय खुलाएनन् । यो कुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंसम्म पुग्यो । तीन घन्टापछि आएर रेडियोग्राफर मिश्रले बिरामीको सिटी स्क्यान गरिदिए । त्यतिबेलासम्म लक्ष्मणका ८५ वर्षका बुवा लोहारी थारूको अवस्था गम्भीर भइसकेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।