१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भारतको पश्चिम बंगालमा मन्त्रीका सहयोगी घरबाट करोडौं बरामद


3.978k
Shares

काठमाडौं । भारतको पश्चिम बंगालमा भ्रष्टाचार अनुसन्धानका क्रममा उद्योग, वाणिज्य तथा उद्यमशिलता मन्त्रीका सहयोगीको घरबाट करोडौं रुपैयाँ नगद बरामद गरिएको छ ।

पश्चिम बंगालमा शिक्षा सेवा आयोग र प्राथमिक तह शिक्षक भर्ती कार्यक्रममा भएको घोटाला अनुसन्धान गरिरहेको कानुन कार्यान्वयन निर्देशनालय (इडी) ले शुक्रबार त्यहाँका मन्त्री पार्थ चटर्जीका सहयोगी अर्पिता चटर्जीको घरबाट २० करोड नगद बरामद गरेको हो ।

छापा मार्दा जताततै पैसै-पैसाको चाङ भेटिएपछि छापा मार्न गएका सीबीआइ र इडीका अधिकारीहरूले बैंकका आधा दर्जन कर्मचारीहरूलाई मेसिनसहित डाकेर पैसा गन्न लगाएका थिए । उक्त घरबाट ठूलो परिमाणमा सुन, विदेशी मुद्रा, विद्युतीय सामग्री र विदेशी कम्पनीहरूका शंकास्पद कागजात समेत बरामद गरिएको छ ।

बरामद सबै सामग्रीको हिसाब निकाल्न बाँकी नै रहेको पनि अधिकारीहरूले बताएका छन् । मन्त्री चटर्जी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट व्यक्ति भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सीबीआइ र इडीले पश्चिम बंगालका शिक्षामन्त्री परेशचन्द्र अधिकारी, सांसद एवं प्राथमिक शिक्षा आयोगका पूर्व अध्यक्ष मनिक भट्टाचार्यलगायतका घरमा एकै पटक छापा मारेका थिए ।

दक्षिण एशियामा भ्रष्टाचार आम समस्या हो । त्यसमाथि अधिकांश भ्रष्टाचार राजनीतिक संरक्षणमा हुने गर्दछन् ।