Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो


78
Shares

काठमाडौं । ‘सीसीटिभी फुटेज प्रकरण’ बारे बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको छ । निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी बजेट निर्माण गरेको विषयमा ‘थप बुझेर छलफल गर्न बोलाइएको’ समिति सचिवालयले जनाएको छ ।

समितिका अनुसार आज बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्ने’दयगत पनि छलफल गर्नुपर्ने भएकाले ‘शर्मासँग मात्रै छलफल गर्न बिहानको समय निर्धारण गरिएको’ हो । यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ । छलफलमा सहभागी गराई बयान लिइसकेकामा अर्थसचिव मरासिनी र अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्कर, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा छन् ।

त्यस्तै, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजस्व व्यवस्थापन महाशाखाका उपसचिव सरद निरौला र गोपाल खत्रीसँग पनि समितिले बयान लिइसकेको छ । बयानक्रममा उनीहरूमध्ये अधिकांशले यस’दयगत आफूहरूलाई ‘जानकारी नभएको’ भनेर अर्थ मन्त्रालयको बचाऊ गरेका छन् । संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।