
-लाओस राई
मुगल आतंकबाट भयभित (साताराका मराठी) राजाकुमार शिबाजे आफ्नै कार्य कक्षमा राजकाज संचालन सम्बन्धि महत्वपूर्ण नीतिहरु कण्ठ गरिरहेको देखि पन्थ (तात्कालिन अवस्थामा प्रधानमन्त्रीलाई पन्थ प्रतिनिधि भन्ने गरिन्थ्यो) प्रतिनिधिले बिदुर नीतिको पुस्तक दिंदै भनेछन, ‘हे महाराज राज्य चलाउनु यस्तो कठिन मन्त्रहरुको कुनै आवश्यकता नै पर्दैन । यति दुःख गर्नैं पर्दैन नि यसको लागि मात्र दुइ चार कुरा गर्नसके पुगिहाल्छ नि । ति कुराहरु बिदुर नीतिमा यथेस्ट छन् । उनले कुरा थपेछन, यदि तलाउमा पानी थोरै भएपनि छाल माथिसम्म उठ्यो भने मान्छेहरु (प्रजा) तलाउ गहिरो छ भन्ने सोच्दछ । पन्थ प्रतिनिधिको त्यस्तो तर्क राजकुमारको कलिलो मस्तिस्कले अर्थ्याउन गार्हो भएपछी राजकुमारले उनलाई अथ्र्याउनु भनेछ । त्यसपछि उनले अथ्र्याउँदै भने, यो दुनिया सबै देखाबेमा (बाहिरी देखावटी) रमझममा रमाउने गर्छन । त्यसैगरी उनीहरु जसलाई ज्ञानी सम्झिदैनन । उ संग ज्ञान छ, उनीहरु ज्ञानी उसलाई सम्झिन्छ जसले ज्ञान देखाउंछ । बिदुर नीतिका अनुसर जुन ब्यक्ति बोल्ले कलामा निपूर्ण हुन्छ, जसको बाणीमा जनता आकर्षित हुन्छन् । जसले कुनै ग्रन्थको मुख्य सार छिटै ग्रहण गर्दछ । जो तर्कवितर्क कलामा निपुर्ण हुन्छ । त्यो नै ज्ञानी हुन्छ । जुन मार्गमा लाग्दै हुनहुन्छ, त्यो धेरै लामो मार्ग हो । ज्ञानको गहिराइमा जान धेरै समय लाग्छ । छोटो समयमा धेरै काम सम्भव छैन । मैंले भनेको मान्नुहोस । अल्लारे राजकुमारले पनि त्यसै गरे । जुन काँचो शासकले मुगला आतंकबाट राज्य जोगाउंन सकेन । भाईसंगको संघर्षमा उनी पराजित भए । अन्त्यमा उनी सत्ता र सातारा छाडेर भागे ।
यो कुनै कथा होइन । तात्कालिन मराठी राज्यको घटना हो । यो एउटा प्रतिनिधि घटनामात्र हो । विश्वमा त्यस्ता खाले घटनाहरु अनगिन्ती घटिरहेका हुन्छन् । जसलाई राजनीतिक परिवर्तनको खुड्किलो र अध्ययनको उपयोगी पाठका रुपमा उपयोग गर्न सकिन्छ । नेपालमा पनि सत्ता र शक्ति प्राप्तिका निम्ती होडबाजी पटक पटक भइरहेको, घटिरहेको हामीले भोगेका र देखिरहेका छौं । इतिहासको अन्य घटना भन्दा पृथक र विभत्स मानिने दरवार हत्या काण्डपछि वंश परम्परा धान्न राजा भएका ज्ञानेन्द्र शाहाको सत्तारोहण र शक्ति यात्राको प्रसंग र ओलीको शक्ति मोहलाई तुलनात्मक दृष्टिले हेर्न आवश्यक छ ।
बिना संघर्ष सत्तामापुगेका ज्ञानेन्द्र शाहले बागडोर सम्हाल्नसाथ शक्ति संघर्षको खेल खेल्न सुरु गरेको हामीले बिर्सेका छैनौं । समय हेर्दै, संसद भंगदेखि एकएक गर्दै संबिधानलाई नियन्त्र गर्दै ज्ञानेन्द्र राजा, प्रधानमन्त्री र सेना प्रमुख भए । दुई उपाध्यक्षलाई कठपुतली बनाउँदै जनअधिकार खोसे । संक्षेपमा भन्नुपर्दा महेन्द्र पथमा लागे । सातदल प्रतिगामी कदम बिरुद्ध संघर्षमा थियो । नेपालमा ये घटना घटेको धेरै भएको छैन । अहिले ति आन्दोलनको पृष्ठभूमीमा नजाउँ । जुन शैलीमा ज्ञानेन्द्र शाह निरंकुुस भए र उनलाई निरंकुस हुन उस्काउने, शक्तिको भोक जगाउने अदृश्य खेलाडीहरु पनि मराठी राजाको पन्थ प्रतिनिधिजस्तै अदुरदर्शी थिए । जसका कारण ज्ञानेन्द्र शाह २०६३ बैशाखमा नै सत्ताच्युत भए । यहाँ उल्लेख गर्न खोजेको मुख्य कुरा नै अपरिपक्व योजना र अलोकतान्त्रिक कदमको कारण २४० वर्षको शाह वंशीय राज संस्था समाप्त भयो । त्यसको मुख्य कारण भनेको नै ज्ञानेन्द्रभित्र जागेको पश्चगामी राजीतिक शक्तिको भोक हो । जसरी मराठी राजा शिबाराजेले सत्ता छोडे झैं ज्ञानेन्द्र शाहले पनि सत्ता छाड्नु पर्यो ।
प्रसङ्ग केही दिन अघि घटेको राजनीतिक घटनालाई टिप्पणी गर्ने हो भने भयानक दुर्घटना मान्नु पर्दछ । कोरना महामारीले जनता त्रसित भएको बेला मौका छोपी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कू’ को प्रयास गरे । अधिनायकवादी चरणको उत्कर्षमा पुग्दै आफुलाई हिटलरको स्थानमा उभ्याउने प्रयास गरे । तर चौतर्फी बिरोध हुन थालेपछी ओलीको निरंकुसताको भोक तुहियो । चार दिनमा असफल भयो । हुनत त्यो कदमको प्रयास एकै पटक भने आएको होइन । २००६ देखिको सपना, कम्युनिष्ट अधियानाकत्वको लक्ष्य पुरा गर्न बग्रेल्ती कम्युनिष्ट पार्टीहरु अस्तित्वमा थियो नै । तर ति पार्टीहरुको सैद्धान्तिक र बैचारिक एकता हुन नसकेर भनौं वा अनुकुल परिस्थिति निर्माण नभएर हो कम्युनिष्टहरु लक्ष्यमा पुग्न सकेका थिएनन् ।
यद्यपी, पछिल्लो घटनाक्रमले उग्रबामपन्थी माओबादी र संसोधनबादी एमाले बिचको एकताले ओलीलाई एउटा शक्तिसाली प्रधनमन्त्रीको रुपमा उपस्थित गरे । जसले गर्दा नयाँ परिस्थितिको निर्माण भयो । तर सधै जसो भई रहने नेकपा भित्रको सत्ता संघर्षको कारण प्रधानमन्त्री ओली धेरै आलोचित बन्न पुगे । व्यक्तिगत र अत्यन्त तल्लो स्तरको भनाभनमा उत्रिएपछी नै नेकपा नेताहरुलाई बाघको छाला ओडेका बोंसो र हुँडारको संज्ञा पनि दिए । निम्न मध्यम बर्गीय परिवारको प्रतिधित्त्व गर्ने ब्यक्तिहरुको समूहले कम्युनिष्ट पार्टी बनाएर ‘गरिबी’ लाई राजनीतिक मोहोरा बनाई सत्तामा पुगेका कम्युनिष्ट भनिने अवसरबादी बामपन्थी समूह सत्तामा पुग्नासाथ सर्पले काँचुली फेरेको जस्तै एलिट (धनाड्य) बर्गमा पुगेपछी, हिजोका क्रान्तिकारी, सहयोद्दाहरुलाई बिर्से । त्यो नै उनीहरुको लागि प्रतिउत्पादक बन्ये । यो नै सत्य तथ्य कुरा हो ।
पहिलो कुरा सत्ता टिकाउनु प्रम ओलीले जे जस्तो बाटो समाते पनि त्यो संसदीय राजनीतिमा नौलो होइन । संसदीय ब्यवस्था भएका अधिकांस देशमा यस्ता खेलहरु भइरहेका हुन्छन । तर महामारीको बेला संबैधानिक परिषदमाथि हमला गर्ने दुष्साहस गरियो त्यो ओलीको अविवेकी र राजनीतिक अकर्मण्यता भन्नु पर्दछ । दोस्रो कुरा प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शको सट्टा शक्ति र सत्तामा कसरी रहिरहनु सकिन्छ भन्ने ध्यउन्न लागि परिरहनु र सत्ता बन्दुकको नालबाट संचालन हुन्छ भन्ने सोच राख्नु नै प्रम ओलीका लागि घातक साबित हुन गयो । त्यसको अनेकन कारणहरु हुन सक्लान् । मुख्य कारण भनेको ओलीलाई सल्लाह दिने निरंकुस स्वभावका शक्ति सुसारेको सल्लाहलाई प्रमुख मान्नु पर्दछ । बामपन्थी आन्दोलनलाई राम्रै बुझेका भएपनि प्रम ओली आफ्नै सहकर्मी एबम पुर्ब प्रधानमन्त्रीत्रयको (प्रचण्ड, माधब नेपाल र झलनाथ खनाल) घेराबन्दीमा परे ।
यद्यपी, दानव मैसासुरको अत्याचारको अन्त्य देवीले गरेजस्तै पूर्व प्रधानमन्त्रीहरुको पेलाई पनि कैलाश पुत्री (यान्छी) देवीले अन्त्य गरिदिए । केही समयको लागि देबीको मायाबी जालले काम गरेपनि पछी के हुने हो त्यो पछि नै थाहा होला । किनकी विभिन्न रुपमा प्रकट हुने शक्तिपिठहरु कुनबेला कस्तो रुप र अवतारमा प्रकट हुने हो त्यो समयले देखाउंदै जाला । केहि समयको लागी भएपनि गुहार मागेर पद त प्रम ओलीले बचाए । जसले तिन पूर्व प्रधानमन्त्रीहरुको राजनीतिक अभ्यासलाई पूर्ण रुपमा थला पारिदियो । राजनीतिक तरलताको फाइदा उठाउनु सक्ने एक अवसरबादी बामपन्थी हो भन्ने प्रमाणित गरे । तर शक्तीशाली हुने सपना भने पुरा हुन सकेन । त्यो उनको पुरा नहुने सपना हो । त्यसबेला बन्दाबन्दीको अवस्था नभएको भए सारा लोकतान्त्रिक शक्तिको विरोधले राजधानी तरंगित हुने थियो र ओलीको सत्ता बहिर्गमन हुने थियो । ओलीको सत्तामोहलाई बन्दाबन्दीले साथ दियो ।
अन्यथा माथि उल्लेख गरिएको मराठी राजकुमारले सहि सल्लाह सुझाव नपाउँदा राज्य नै छोड्नु परेको र ज्ञानेन्द्र शाहलाई उनका सहायोगीहरुले पश्चगामी र प्रतिगामी शासनको सुझाब दिंदा राजा सस्था नै गुमाएको घटना जस्तै प्रम ओलीको दुई तिहाको बाँधलाई लोकतन्त्रप्रेमी जनताको उर्लदो सागरले बगाई सक्ने थियो । त्यसैले शासन सत्ता संचालनमा विधि र बुद्धी नलगाउँदा दुर्घटना ब्यहोर्नु पर्ने निश्चित छ । इतिहासले त्यही सत्यलाई पुष्टि गरिसकेको छ । विश्वको परिवेशमा निरंकुशता र जनविरोधी कदम लामो समय टिक्न नसकेको र लोकतान्त्रिक विधि र मान्यताबाट चलेका सत्ताहरु दिर्घकालिन रहेको तथ्यहरु प्रशस्त छन् । यस्तो महामारीले गाँजिएको र विकासको चरणमा अघि बढेको नेपालका हाम्रा प्रधानमन्त्री ज्ञानेन्द्र र मराठी राजा शिबाजेजस्तो कहिल्यै नबनुन । यस्तो कल्पना सम्म पनि गर्नु नपरोस । शुभकामना ।
(लेखकः विश्लेषक तथा कांग्रेसका युवा नेता हुन)
प्रतिक्रिया दिनुहोस्