Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


‘नाइरोबी फ्लाइ’को संक्रमण घातक नभएको चिकित्सकको भनाइ


91
Shares

काठमाडौं । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाइ’ नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था नभएको चिकित्सकले बताएका छन् ।

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर केशव ढकालले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो ।

ढकालले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिनुभयो । नाइरोबी फ्लाइ किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि संक्रमण देखिने बताउनुभयो ।

शरीरमा नाइरोवी फ्लाइले छुनेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी नहुने डाक्टर ढकालको भनाइ छ । किराले संक्रमण गराएर बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तत्काल देखाउन चिकित्सकहरूको सुझाव छ ।

डाक्टर ढकालले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएको र सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताउनुभयो ।

Skip This