काठमाडौं । बैंकरहरुले आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सकेमात्रै अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । अध्यक्ष उपाध्यायले उत्पादनमुलक र अनुत्पादनमुलक क्षेत्र छुट्याएर जोखिम भार फरक गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले बैंकहरुमा लागू भएको बेस रेट व्यवहारीक नभएको भन्दै मौद्रिक नीतिमार्फत सुधार गर्न पनि सुझाव दिनुभयो ।
यस्तै, नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष प्रद्युमन पोखरेलले उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिने कर्जाको जोखिम भार मौद्रिक नीतिमार्फत घटाउनुपर्ने बताउनु भयो । उहाँले मौद्रिक नीतिमार्फत विकास बैंकहरुलाई पनि सरकारी कारोबार गर्न दिनुपर्ने माग गर्नुभयो ।
यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरुको कर्जा लगानी उत्पादनमुलक क्षेत्रमा बढी गर्नुपर्छ भन्ने राष्ट्र बैंकको नीतिमा उल्लेख हुनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुले अनुत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्दा समस्या आएको बताउनुभयो ।
अध्यक्ष गोल्यानले बैंकहरुमा स्रोत नदेखाई १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने भएको भन्दै मौद्रिक नीतिमार्फत २५ लाखसम्म बैंकको मुद्धती खातामा राख्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्