Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बन्लान् त वामदेव प्रधानमन्त्री ?


0
Shares

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, वैशाख १९ । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम प्रधानमन्त्री पद प्राप्तिको बाटो खोजिरहेका छन् ।

गत बुधबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्धको मोर्चालाई छिन्नभिन्न पार्न गौतमलाई भावी प्रधानमन्त्रीको लोभ देखाइदिए ।

विगतमा उधारो आश्वासनमा परेर पटक–पटक जिल्लिएका गौतम यसपटक पनि रिक्त नरहेको प्रधानमन्त्रीको कुर्सीमा पुग्ने सपना देखिरहेका छन् अर्थात् उनलाई ओलीको प्रस्ताव स्वीकार्य छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत बुधबार पार्टीको सचिवालय बैठकमा राखेको प्रस्ताव अप्रत्यासित थियो, नेता वामदेव गौतमका लागि ।

‘कोरोना महामारीपछि गौतमलाई प्रधानमन्त्री बनाऔं’ भन्ने प्रस्तावले ओलीविरोधी मोर्चामा हल्लीखल्ली मच्चिएको छ ।

गौतम स्वयंले प्रधानमन्त्री बन्ने भनेर मुख मिठ्याउँदै पार्टीको संस्थागत निर्णय कुरिरहेका छन् ।

नेकपा नेता केशवलाल श्रेष्ठ पार्टीले संस्थागत निर्णय लिए गौतम प्रधानमन्त्रीका लागि तम्तयार रहेको बताउँछन् ।

गौतमनिकट श्रेष्ठको यो भनाइले प्रधानमन्त्रीको प्रस्ताव अब परिपक्व ढंगले आउने आशा राखेको देखिन्छ ।

पार्टी अध्यक्ष ओलीले आफूलाई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट हराएको भनेर गौतम लामो समय कुर्लिए । तर, ओलीले फकाउन थालेपछि उनी पटक–पटक फकिए ।

गौतमलाई प्रधानमन्त्री पदको ‘अफर’ यसअघि पनि नगरिएको होइन ।

डोल्पा, बर्दिया र काठमाडौंको कुनै एक निर्वाचन क्षेत्र रिक्त गरेर उपनिर्वाचनमार्फत् गौतमलाई सांसद बनाउने भनियो । कास्कीबाट निर्वाचन लडाउने प्रयास पनि भयो ।

तर, अनेक बखेडा झिकेर अनि गौतमलाई चुनाव जित्छु भन्ने आत्मबल नहुँदा प्रतिनिधिसभामा प्रवेश गर्ने चाहनामा ठेस लाग्यो ।

प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव जित्ने सुनिश्चिताता छैन । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री पदका लागि संविधानतः योग्य हुँदैन ।

गौतमको दोस्रो बाटो भनेको राष्ट्रियसभा सदस्यमा मनोनयन भइ संविधान संशोधनमार्फत् प्रधानमन्त्री हुन योग्यता हासिल गर्नु हो ।

प्रतिनिधिसभा निर्वाचन जित्ने सुनिश्चिता नभएको र नेकपाको संसदमा दुईतिहाइ नरहेको स्थितिमा संविधान संशोधनमार्फत् प्रधानमन्त्रीको कुर्सीमा पुग्ने गौतमको चाहना पूरा हुने सम्भावना निकै क्षीण छ ।

राष्ट्रियसभा सदस्य मनोनयनको पार्टी सचिवालयको बैठकको निर्णयसमेत ओलीले अस्वीकार गरिरहेको स्थितिमा गौतमलाई प्रधानमन्त्रीको अफर ‘माछो माछो भ्यागुतो’ भनेजस्तै त होइन ?

Skip This