Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


भाषणलेमात्रै खेलकुदको विकास हुँदैन : मुख्यमन्त्री पौडेल


0
Shares

राजु चौधरी (इमेज)

चितवन, साउन ३० । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको फुटबलमा लोकतान्त्रिक प्रक्रियाको सुरुआत भएकाले फुटबलको विकास हुनेमा विश्वास व्यक्त गरेका छन् ।

बुधबार चितवनको सौराहामा एन्फाको विशेष साधारणसभा उद्घाटन गर्दै उनले अँध्यारोमा रुमल्लिएको नेपाली फुटबल उज्यालोतिर लम्किएको भन्दै अब नयाँ ढंगले एन्फालाई अगाडि बढाउन आग्रह गरे ।

पुरानै ढंगले एन्फा चले नेपालको फुटबल विकास हुन नसक्ने उनको भनाइ थियो ।

खेलकुदको विकासबिना देश समृद्ध बन्न नसक्ने भन्दै मुख्यमन्त्री पौडेलले खेलकुदलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘भाषणलेमात्रै खेलकुदको विकास हुँदैन । सरकारले प्राथमिकतामा राख्नुपर्छ’–उनले भने–‘प्रदेश सरकारको प्राथमिकतामा खेलकुद परेको छ ।’

उनले खेलकुदका लागि अब प्रदेशस्तरीय रंगशाला बन्ने बताए ।

मुख्यमन्त्री पौडेलले नेपालमा अरु पर्यटनको प्रशस्त सम्भावना भएपनि अब खेल पर्यटनलाई पनि महत्व दिनुपर्ने बेला आएको उल्लेख गरे ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, दीपक निरौला, नारायण सिंह, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य उपेन्द्र पौडेललगायतले आफ्ना भनाइ राखेका थिए ।