Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एन्फा अब प्रादेशिक संरचनामा, भदौदेखि अनलाइनबाट खेलाडी दर्ता


0
Shares

राजु चौधरी (इमेज)

चितवन, साउन ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)को १७औं विशेष साधारणसभा चितवनको सौराहामा जारी छ ।

होटेल सेभेन स्टारमा जारी विशेष साधारणसभाको बुधबार प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

विशेष साधारणसभाबाट एन्फाको विधान संशोधनका साथै आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सन्चालन नियमवाली, खेलाडी दर्ता नियमावली संशोधन तथा निर्माण गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

विशेष साधारणसभामा ४५ ओटा जिल्ला संघका तीन/तीनजना, १४ ओटा ‘ए’ डिभिजन क्लबका तीन/तीनजना, चारओटा संघका तीन/तीन, पर्यवेक्षकलगायतका गरी करिब ३०० जनाको सहभागिता रहेको छ ।

एन्फा अब प्रादेशिक संरचनामा

एन्फा अब प्रादेशिक संरचनामा जाने भएको छ । जसका लागि बुधबार सौराहामा सुरु भएको १७औं विशेष साधारणसभाले विधान संशोधन गर्दैछ ।

देश संघीय संरचनामा गइसकेकाले एन्फालाई पनि सोहीअनुरुप लैजान लागिएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।

‘संघीयता लागू भइसकेको छ । अब एन्फाको पनि प्रदेश कमिटी बन्नेछ । सोहीअनुरुप विधान संशोधन गर्दैछौं’–उनले भने ।

अध्यक्ष शेर्पाले कानुनविहीन चलेको एन्फालाई विधि–विधानसम्मत् सन्चालन गर्न विशेष साधारणसभा गरिएको बताए ।

उनले साधारणसभाबाटै पहिलोपटक एन्फाको आर्थिक नियमावली, कार्यसन्चालन नियमावली, कर्मचारी नियमावली, खेलाडी नियमावली पारित गरिने बताए ।

‘एन्फालाई विधि–विधानमा राखेर चलाउन खोजेका छौं’–उनले भने–‘एन्फा पूर्णरुपमा पारदर्शी बन्नेछ ।’

अनलाइनबाट खेलाडी दर्ता

एन्फाले विशेष साधारसभामार्फत् खेलाडी दर्ता नियमावली ल्याउँदैछ । यस नियमावलीले खेलाडीलाई व्यवस्थापन गर्न सहज हुने जनाइएको छ ।

सोही नियमावलीअन्तर्गत् रहेर अब सन्चालन हुने लिग फुटबलका लागि खेलाडी दर्ता प्रक्रिया सुरु हुँदैछ ।

नेपाली फुटबल इतिहासमै पहिलोपटक अनलाइन प्रणालीबाटै पारदर्शीरुपमा खेलाडी दर्ता हुन लागेको जनाइएको छ ।

एन्फा अध्यक्ष शेपाले आउँदो भदौ १ गतेदेखि अनलाइन प्रणालीबाट खेलाडी दर्ता प्रक्रिया सुरु हुन लागेको जानकारी दिए ।

उनले यसरी खेलाडी दर्ता गर्दा बिमा अनिवार्य गरिएको बताए । युवादेखि सबैखाले खेलाडीको नाम दर्ता अनलाइनबाटै हुने उनले उल्लेख गरे ।

खेलाडी दर्ता गर्दा लाग्ने शुल्क खेलाडीकै वृद्धिविकासमा खर्च गरिने जानकारी पनि उनले दिए ।

यो वर्ष कुनै टिम रेलिगेसनमा नपर्नेगरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सन्चालन गर्न लागिएको अध्यक्ष शेर्पाले बताए ।