Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कांग्रेसका शीर्ष नेतालाई पार्टीभित्रैबाट चुनौती


546
Shares

काठमाडौं । ‘टिकट लिनु र पार्टीभित्रको व्यवस्थापन मिलाइसक्नु भनेको कांग्रेसमा ७५ प्रतिशत प्रतिनिधिसभाको निर्वाचन जित्नु हो। मतदातालाई भेट्नेसहितका बाँकी काम २५ प्रतिशत मात्र हो। पार्टीभित्रको गुटगत सन्तुलन मिलाउनु निर्वाचनमा कांग्रेसभित्र सबैभन्दा ठूलो चुनौतीको काम हो।’ २०६४ सालको संविधानसभा निर्वाचनअघि नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको भनाइ हो यो। जतिबेला कांग्रेसका दुई प्रभावशाली नेता बास्तोला र कृष्णप्रसाद सिटौलाबीच झापामा पेचिलो प्रतिस्पर्धा थियो। दुवै नेता र उनीहरूका समर्थक आफू र आफ्नो नेतालाई चुनाव जिताउनुभन्दा अर्को नेता हार्दा खुसी हुने गरेको निकटहरू बताउँछन्।

कांग्रेसमा मौलाएको गुटगत प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थ झापाका बास्तोला र सिटौलामा मात्र होइन, पार्टी स्थापनादेखि नै शीर्ष तहमा प्रकट हुँदै आएको छ। नेता बिपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालासम्म मात्र होइन, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल हुँदै पछिल्लो पुस्ताका नेताहरूसम्म अग्रज, समकक्षी र कनिष्ठहरूसँग पनि प्रतिशोधको भाव प्रकट हुँदै आएको छ। यो क्रमले निरन्तरता पाउँदा आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सभापतिदेखि प्रभावशाली नेताका लागि प्रतिस्पर्धी दलभन्दा आफ्नै पार्टीभित्रका आकांक्षीको सन्तुलन र व्यवस्थापन मिलाउन चुनौतीपूर्ण बन्ने देखिएको हो।

कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्ने सरकारको तयारी छ। निर्वाचनमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेल, शेखर कोइरालाका साथै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीका लागि आफ्नै दलका नेताहरूको व्यवस्थापन चुनौती हुने देखिएको छ। २०४८ सालदेखि डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवालाई पार्टीका पूर्वजिल्ला सभापति कर्ण मल्ल चुनौतीका रूपमा खडा भएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।