काठमाडौं । कलिला विद्यार्थीलाई नेपालमै उच्चशिक्षा हासिल गर्ने वातावरण बनाउन नसक्दा विदेशिनेको संख्या थेगिनसक्नु छ । मंगलबार केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी) पुग्दा सयौंको संख्यामा ‘एनओसी लेटर’ लिनेको भीड लागेको थियो । विद्यार्थीको भीड केशरमहलको बाहिरी गेटसम्म थियो । भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।
केही दिन स्थानीय निर्वाचनका कारण र त्यसपछि आइतबार सार्वजनिक बिदा गरेकाले त्यस बेलादेखिको असरले भीड बढेको एनओसी शाखाको भनाइ छ । शाखा प्रमुख हरिप्रसाद निरौलाले अनलाइन फारम भरेर प्रमाणीकरण भएको भोलिपल्ट पत्र दिने व्यवस्था गरे पनि प्रमाणीकरण नै नभई शाखामा आउने गरेका कारण भीड बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनलाइन फारम प्रमाणीकरण भएपछि मात्र एनओसी पत्र लिन आए यस्तो भीड हुने थिएन ।’ गत वर्षको लकडाउनपछि अस्ट्रेलियालगायत विदेशी मुलुकले भिसा खुला गरेका कारण सो मुलुकमा पढ्न जाने विद्यार्थीको भीड बढेको हो ।
शाखा प्रमुख निरौलाका अनुसार भर्खरै १२ पास गरेका २२–२३ वर्षका कलिला विद्यार्थी बुझ्दै नबुझी कलेजको नाम छनोट गर्ने र फारममा भरेको विवरण गल्ती लेख्ने गरेको पाइएको छ । गल्ती विवरण भर्नाले अनलाइन फारम प्रमाणीकरण नभएका कारण शाखामै आउने गर्दा भीड बढेको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्