Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


बलात्कार गरी एक लाख नगद र दुई तोला सुन लुट्ने तामाङ पक्राउ


2.1k
Shares

काठमाडौं । काठमाडौंमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपितलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

२४ वर्षीया महिलालाई बलात्कार पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा प्रहरीले काभ्रेको तिमाल गाउँपालिका–९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय विश्व तामाङलाई पक्राउ गरेको हो ।

ती महिलालाई जेठ २९ गते आफूलाई भोटे बताउने व्यक्तिले ललाई फकाई बिबाह गर्छु भनी प्रलोभनमा पारी काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाई बलात्कार पश्चात ती महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए ।

यस घटनाबारे जेठ ३१ गते प्रहरी वृत्त कालिमाटीमा जाहेरी परेको थियो । जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण गराएको थियो ।

अनुसन्धानका क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

उनी विरुद्ध जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइहेको छ ।