Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नक्कली मृत्यु प्रमाणपत्र बनाएर जग्गा किर्ते


338
Shares

काठमाडौं । विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएका व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर नेपालमा रहेको जग्गा बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको कीर्तिपुरमा रहेको ११ आनाभन्दा बढी करिब ७ करोड बराबरको जग्गा नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर किर्ते गरी बिक्री गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको पाइएको हो ।

जग्गा किर्ते गर्ने गिरोहले शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र श्रीमान्समेत नक्कली नै खडा गरी जग्गा बिक्री गरेको पाइएको छ ।सो घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्युरोका एसपी महतोले जानकारी दिए । पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस–६ घर भइ हाल काठमाडौंको टोखा बस्ने ५६ वर्षका महावीर चन्द (नक्कली श्रीमान्, तारानिधी लोहनी), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस ४ हाल परिवर्तित थुलुङ दुधकोसी गाउँपालिका १ घर भई बूढानीलकण्ठ २ भंगाल बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस ८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका १ घर भई काठमाडौं बनस्थली बोहराटार बस्ने ४६ वर्षका प्रेमप्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस २, घर भई हाल वनस्थली बस्ने ममता भन्ने ५८ वर्षीय डासी माया श्रेष्ठ छन् ।

उनीहरूको साथबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान–४, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधि लोहनीको नामको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता स्रेस्तालगायतका सामग्री बरामद गरिएको ब्युरोले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।