१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


बेलायती संसद भवनअगाडि कार दुर्घटना, पैदलयात्री घाइते


0
Shares

लन्डन, साउन २९ । बेलायतको संसद भवनअगाडि एकजना सवारीचालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिहानको भीडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शंकास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।

विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारी–साधनको प्रयोग गरी चारओटा आतंकवादी आक्रमण भइसकेका छन् ।

बेलायतको मुख्य प्रशासनिक इकाइसमेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ ।

प्रहरीले आमसर्वसाधारणलाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।

‘हाउस अफ लड्र्सको बाहिरको बारमा तीव्रगतिको कारले हिर्कायो । ठूलो आवाज आयो र धुँवा उड्यो’–प्रत्यक्षदर्शी एवीलीना ओचाबले भने–‘चालक तुरुन्तै बाहिर निस्केनन् । सुरक्षागार्डले तत्कालै मानिसलाई टाढा जान आग्रह गरिरहेका थिए ।’

यही स्थानमा मार्च २०१७ मा पनि आतंकवादी हमला भएको थियो । खालिद मसूद नाम गरेका एक व्यक्तिले वेस्टमिन्स्टर ब्रिजमा चारजना मानिसको ज्यान लिनेगरी कारबाट आक्रमण गरेका थिए ।

लन्डनको महानगरीय प्रहरीले प्रतिआतंकवाद कमान्डले घटनाको अनुसन्धान थालिसकेको जानकारी दिएको छ ।

कार दुर्घटनामा केही व्यक्ति घाइते भएपनि जटिल अवस्थामा नरहेको बताइएको छ । रासस/एपी