काठमाडौं । पछिल्लो समय विभिन्न शीर्षकमा संकलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांक अनुसार राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो । विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देस आर्थिक रूपले कमजोर बन्दै गएको अवस्थामा सरकारले चालू आवमा राजस्व संकलनको लक्ष्यसमेत भेटाउन नसक्ने अवस्था देखिएको छ।
विभागले यस अवधीमा सबै शीर्षकमा गरी जम्मा ८८ दशमलव ४ प्रतिशत मात्र राजस्व संकलन भएको जनाएको छ ।विभागको तथ्यांक विवरणअनुुसार चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ४ खर्ब १० अर्ब ४५ करोड ३६ लाख ३५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । सरकारले यो अवधिमा ४ खर्ब ६६ अर्ब १९ करोड ९१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।चालू आवको अन्तिम महिना ३ असारको दिन शुक्रबारसम्ममा सरकारले आफूले निर्धारण गरेको सो लक्ष्यभन्दा निकै कम मात्र राजस्व संकलन गरेको देखिएको छ ।
सरकारले चालू आवको जेठ मसान्तसम्ममा आयकर तर्फबाट २ खर्ब २ अर्ब १ करोड ८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा अहिले जम्मा १ खर्ब ८२ अर्ब २४ करोड ४३ लाख ३९ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो लक्ष्यको ९० प्रतिशत मात्र राजस्व संकलनको अवस्था हो । यसैगरी, विभागले घरबहाल कर शीर्षकबाट लक्ष्यको ६५ दशमलव ७८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले घरबहाल करबाट ३ अर्ब ६९ करोड ३३ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर अहिले जम्मा २ अर्ब ४२ करोड ९३ लाख २१ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको पाइएको विभागको तथ्यांकमा उल्लेख छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्