Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आर्थिक लाभका लागि पर्यटनमन्त्री आलेको चलाखी: भतिजालाई तारागाउँमा भर्ती


7.3k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्। आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका व्यक्तिबाट ‘आर्थिक लाभ’ हुने छाँटकाँट नदेखेपछि उनले पार्टी नेतृत्वलाई झुक्याउँदै सदस्य सचिव पदमा भतिजा पर्ने महेन्द्रबहादुर थापालाई नियुक्ति दिलाएका हुन्।

गत मंसिर २८ गते तत्कालीन सदस्य सचिव झविन्द्र ज्ञवालीले अध्यक्ष प्रह्लाद न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। त्यसपछि रिक्त सो पदबाट ‘आर्थिक लाभ’ उठाउने चाहना मन्त्री आलेमा पलाएको स्रोतको दाबी छ। उनको सो चाहनामा नेकपा एस नेतृत्व बाधक बन्ने छाँटकाँट देखियो। ‘पार्टी (नेकपा एस) नेतृत्वले अघिल्लो कार्यकालमा सदस्य सचिव भएर राम्रो काम गरेको भन्दै नारद लुइँटेललाई सिफारिस गरेको थियो,’ स्रोतले भन्यो, ‘तर लुइँटेललाई सो पदमा ल्याउने चाहना मन्त्रीज्यूको थिएन।’ अघिल्लो कार्यकालमा लुइँटेलले तारागाउँमा रहेको हायात रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी जग्गाको विवरण सार्वजनिक गरेर प्रशंसा कमाएका थिए।

स्रोतका अनुसार पार्टी नेतृत्वले दबाब दिएपछि लुइँटेललाई नै नियुक्त गर्नुपर्ने बाध्यता मन्त्री आलेलाई आइलाग्यो। त्यसपछि सुरुमा उनले लुइँटेलबाटै ‘आर्थिक लाभ’ उठाउन खोजेको दाबी गरिएको छ। ‘सुरुमा उहाँ (लुइँटेल) सँग तपाईंलाई नियुक्ति गर्छु, त्यसबापत पैसा दिनुपर्छ भनेर मन्त्रीले बार्गेनिङ गर्नुभएको थियो। तर लुइँटेलले दिन मान्नुभएन,’ स्रोतले भन्यो। यति भइसक्दा पनि मन्त्री आलेले नियुक्ति रोक्न सक्ने अवस्था थिएन। त्यसपछि उनले ‘आइडिया’ निकाले ‘नियुक्ति त गर्ने तर असफल हुनेगरी’ सोहीअनुसार फागुन २५ गते उनले नियुक्ति प्रक्रिया नै विवादित बन्नेगरी लुइँटेललाई सदस्य सचिव नियुक्त गरिदिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।