
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेसँगै पार्टीभित्र तरंग पैदा भएको छ । नेता भुसालले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्ति पार्टी हितविपरीत रहेको भन्दै आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकमा अनुशासन आयोगले पार्टी नेतृत्वसमक्ष नेता भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ ।
भुसालबाट अनुशासन उल्लंघन भएको भन्दै अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीसमक्ष कारबाहीका लागि सिफारिस गर्नुभएको छ । भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेभित्रै पनि केही नेताहरूले उक्त सिफारिसको आलोचना गरिरहेका छन् । पार्टी एकता प्रक्रियामा रहेका ११ जना नेताहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान र कारबाहीका नगर्न अध्यक्ष ओलीलाई दबाब दिँदै आएका छन् । भुसाललाई अनुशासनको कारबाहीको सिफारिस गरेपछि आज सोमबार पार्टीको सचिवालय बैठक बोलाइएको छ ।
केन्द्रीय कमिटिको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णतालगायतका विषयमा छलफल भएको थियो।एमाले सचिव पद्मा अर्यालले बैठकमा सचिवालय बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको बताउनुभयो ।स्थानीय तह निर्वाचनको मत परिणामका बारेमा यसअघि एमालेभित्र पार्टी कमिटीको बैठकहरूमा औपचारिक रूपमा छलफल भएको थिएन।एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनभन्दा पनि एमालेको अन्तरघातका कारण निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै आउनुभएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्