Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राजमार्गमा यात्रुलाई सास्ती

यातायात व्यवसायीको पनि बदमासी

481
Shares

पोखरा । पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए। पोखरा-मुग्लिन सडकखण्डअन्तर्गत आँबुखैरनीको पहिरोस्थलमा आइपुग्दा पोखरेलले राजधानी छाडेको २७ घन्टा बितिसकेको थियो। यो अवधिमा उनले न राम्रोसँग खान पाए न शौचालय जान पाए, सुत्न पाउनु त परैको कुरा। निजी गाडीमा काठमाडौंबाट हिँडेका पोखरेलसँग उनकी पत्नी थिइन्। ‘योपटक निकै नै सकस खेप्यौं। अझै कति समय रोकिनुपर्ने भन्ने यकिन छैन,’ पहिरोका कारण रोकिएका पोखरेलले भने, ‘राजमार्गमा यात्रुको बिचल्ली छ।

घन्टौंदेखि भोकभोकै छन्। कतिपय यात्रु ३० घन्टादेखि सडकमा रोकिएका छन्।’ पोखरेल दम्पती बिहीबार बेलुकीदेखि राजमार्गमा फसेका हुन्। मुग्लिन–काठमाडौं खण्डको कुरिनटारमा झरेको पहिरोले सुरुमै रोकिएका उनीहरूले रात कुरिनटारमै बिताए। जसोतसो पहिरो पन्छाएर सडक खुल्यो। गाडी अघि बढ्यो। बिहानपख मुग्लिन कटेका पोखरेल दम्पती आँबुखैरेनी पुगेपछि फेरि पहिरोका कारण रोकिए। शुक्रबार बिहान साढे ४ बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिककै राजमार्ग खस्दा दिनभर सडक अवरुद्ध भयो। ‘हामीले कम्तीमा २७ घन्टासम्म राजमार्गमा बितायौं।

हामीसँगै अघिपछि गुडेका सवारीसाधन पनि गन्तव्यमा पुग्न नपाएर रोकिएका छन्, निकै सास्तीपूर्ण यात्रा गर्नुपर्‍यो,’ पोखरेलले भने। काठमाडौं छाडेपछि राम्रोसँग खाना खान पनि नपाएको पोखरेलले सुनाए।२७ घन्टादेखि राजमार्गमा रोकिनुपर्दा सबैभन्दा सकस बिरामी, वृद्धवृद्धा र बालबालिकालाई भएको उनले बताए। विदेशी पर्यटक पनि उत्तिकै मारमा परे। ‘राजमार्गमा व्यवस्थित शौचालय कतै छैन। विदेशीले शौचालय जान नपाएर सकस खेपे,’ उनले भने, ‘राम्रो खाना खाने ठाउँ पनि छैन, सबैको बिजोग छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।