२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


जाँच र औषधिपछि मेलम्चीका सवारीसाधनलाई प्रवेश दिइने


0
Shares

मेलम्ची, बैशाख ५ । जाँच र औषधि प्रयोगपछि मात्रै मेलम्ची खानेपानीका सवारीसाधनले हेलम्बु प्रवेश पाउने भएका छन् ।

हेलम्बु गाउँपालिका–४ र मेलम्ची खानेपानीबीच सुरक्षित तरिकाले सामान बोक्ने सवारीसाधन चलाउने सहमति भएपछि सवारीसाधन गाउँपालिकामा प्रवेश गर्न दिइएको छ ।

यसअघि अत्यावश्यक सवारीसाधन मात्रै आफ्नो क्षेत्रभित्र प्रवेश दिने र अन्य कुनै सवारीसाधनमा रोक लगाउने निर्णय गरिएको थियो ।

शुक्रबार वडा नम्बर ४ का वडाध्यक्ष, वडास्तरीय विपद् व्यवस्थापन समितिका संयोजक, प्रहरी प्रशासन र आयोजनाका प्रतिनिधिबीच मेलम्ची खानेपानीको निर्माणका निम्ति सामना ढुवानी गर्ने सवारीसाधन र चालक तथा सवारीका सहयोगीलाई समेत स्प्रे र स्यानेटाइजर प्रयोग गरी गाउँपालिकाभित्र प्रवेश दिने सहमति भएको वडाध्यक्ष राजकुमार लामिछानेले बताए ।

सहमतिअनुसार मालसामान ढुवानी गर्ने सवारीसाधनका लागि वडा नं ६ तालामाराङमा जाँच र औषधि प्रयोगपछि मात्रै प्रवेश दिइएको छ ।

एम्बुलेन्स, खाद्यान, तरकारी तथा फलफूल र प्रेसका लागि मात्रै गाउँपालिकाभित्र प्रवेश दिने र अन्य सबै सवारीसाधनमा रोक लगाउने वडाको निर्णयले गर्दा गाउँपालिकाभित्र पर्ने नेपालकै ठूलो परियोजना मेलम्ची खानेपानी आयोजनाका लागि दैनिकरुपमा ढुवानी हुँदै गरिएको गिट्टी, बालुवा सिमेन्टलगायत अतिआवश्यक वस्तुसमेत रोकिने र सो परियोजनामा समेत ठूलो क्षति हुने अवस्था सिर्जना भएपछि स्थानीय र प्रहरीबीच झडपसमेत हुने अवस्था सिर्जना भएको थियोे । रासस