Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कांग्रेसलाई धम्क्याउँदै दाहाल


715
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सोचेभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थालेका छन्। सरकारले संघीय संसद्को निर्वाचन तयारी थालेका बेला दाहालले एमालेको जस्तै हालत कांग्रेसको पनि बनाइदिने भन्दै धम्क्याउन थालेका हुन्।

सत्ता गठबन्धन बैठकमा आगामी कात्तिक वा मंसिरभित्र संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल चलिरहँदा दाहालले निर्वाचनमा गठबन्धनबीच सिट बाँडफाँट हुँदा धैरै भन्दा धेरै हात पार्न कांग्रेससँग बार्गेनिङ (मोलमोलाई) गर्न थालेका छन्। उनले आफूले भने जति सिट नपाए कांग्रेसको हालत पनि एमालेको जस्तै बनाइदिने भन्दै धम्क्याउन थालेको स्रोतले बतायो। संघीय निर्वाचनमा माओवादीले कांग्रेसको साथ लिएर एमालेभन्दा ठुलो पार्टी बन्ने रणनीति लिएको छ।

दाहालले बुधबार पनि काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ चुलिएको उल्लेख गर्दै एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् भन्ने धम्की दिए। ‘कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ चुलिएको छ। माओवादी केही होइन भन्ने कांग्रेसको व्यवहार धेरै ठाउँमा देखिएको छ। एमालेलाई ठेगान लगाएजस्तै भोलि हामीले कांग्रेसलाई पनि ठेगान लगाउनुनपरोस्,’ स्थानीय निर्वाचनमा माओवादीबाट चुनिएका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने। २०७४ सालको संघीय निर्वाचनअघि पनि माओवादी अध्यक्ष दाहालले यसैगरी कांग्रेसलाई धम्क्याएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।