Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ : तरुण दल


0
Shares

काठमाडौं, वैशाख ५ । नेपाल तरुण दलले ‘लकडाउन’का समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आवश्यक राहतको अभावमा खान, बस्न समस्या भइ कतिपय मजदुर हिँडेरै आफ्नो घर पुगेका, कतिपय बाटोमा अलपत्र परेका र केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै तरुण दलले उनीहरुका लागि राहत तथा गन्तव्यसम्म पुग्नका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

साथै, तरुण दलले राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरका लागि ठाउँ–ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गर्न मातहतका कार्यसमितिलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रहसमेत गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि जारी गरिएको लकडाउनलगायत रोकथामका अन्य कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सम्पूर्ण भातृसंगठनले सहयोग गरिरहेका बेला सरकार भने आफ्नो जिम्मेवारीबाट विमुख देखिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आरोप लगाएका छन् ।

तरुण दलले वर्तमान विषम परिस्थितिमा पर्याप्त सुरक्षाका सामग्रीको कमीका बाबजुद पनि अग्रपंक्तिमा रही काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एम्बुलेन्स चालक, फोहोर संकलकहरुको मुक्तकन्ठले प्रशंसा गरेको छ ।

अध्यक्ष बस्नेतले यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रगीसँगै थप सुविधा पनि चाँडो व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । रासस