Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


आपतकालीन अवस्थामा बिरामी ओसारपसार गर्न नमान्ने एम्बुलेन्स सेवा रद्द गरिने


0
Shares

काठमाडौं । आपतकालीन अवस्थामा बिरामी ओसारपसार गर्न नमान्ने एम्बुलेन्स र सञ्चालक दुवैलाई कारवाही हुने भएको छ ।

जिल्ला स्तरीय खोज तथा उद्धार समितिको बिहीबार बसेको बैठकले त्यस्ता एम्बुलेन्स चालक तथा सञ्चालकले सञ्चालन गरेका एम्बुलेन्स सेवा रद्द गर्न सक्ने समेत निर्णय गरेको छ ।

अहिलेको सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम एम्बुलेन्स सञ्चालन रद्द गर्न सकिने जिल्ला स्तरीय खोज तथा उद्धार समितिका संयोजक प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

त्यसैगरी बैठकले जिल्लामा सञ्चालित १४ वटा एम्बुलेन्समा बीचको भागमा बार लगाउने(कम्पार्टमेन्ट) काम सम्पन्न भएको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको  आशंका लागेका बिरामी बोक्दा चालकलाई संक्रमणको जोखिम नहोस् भनेर एम्बुलेन्समा कम्पार्टमेन्ट राख्ने काम गरिएको हो ।

‘१४ वटा एम्बुलेन्समा कम्पार्टमेन्ट राख्ने काम सकियो संयोजक काफ्लेले भने, बाँकी एम्बुलेन्समा पनि कम्पार्टमेन्टको काम छिट्टै सक्न भनेका छौं ।’

ती एम्बुलेन्सको कम्पार्टमेन्टको काम सकिएपछि जिपिएस जडान गरी ट्रयाकिङ्ग सिस्टममा समावेश गर्ने उनले बताए । जिल्लामा २७ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

त्यसैगरी समितिले विदेशबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने काम खोज तथा उद्धार समिति मार्फत गर्ने भएकाले कुनै व्यक्ति कुनै समुदायमा बसेको जानकारी प्राप्त भए तत्काल खबर गर्न भनेको छ ।

संयोजक काफ्लेको फोन नं. ९८५१२८४३२१ तथा प्रहरीको हटलाइन नं. १०० मा जानकारी गराउन पनि अनुरोध गरिएको छ । जिल्लामा चैत महिनामा मात्रै विदेशबाट आएका तीन सय ७५ जना छन् ।