१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने


390
Shares

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) देखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ ।

भर्खरै निर्माण सम्पन्न भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन पारेर कुवेतबाट २ सय ७८ यात्रु सहितको न्यारोबडी विमानले उडान भर्ने भएको छ। सो विमान सोमबार बिहान साढे २ बजे नेपालबाट ३० यात्रु भन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यसपछि साताको ३ दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । एउटा मात्र रनवे भएका कारण ट्राफिक जाम हुने गरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने ३ हजार ५ सय मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदिपकुमार अधिकारीले बताउनुभयो ।

उक्त विमानस्थल सञ्चालन भएसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ ।