५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


कास्कीमा ६५ प्रतिशत मत खस्यो, पोखरा महानगरको मतगणना शनिबारदेखि सुरु


364
Shares

पोखरा । स्थानीय तहको निर्वाचनमा कास्कीमा ६५ प्रतिशत मत खसेको छ ।

पोखरास्थित निर्वाचन कार्यालय अनुसार कास्कीका १ महानगरसहित ५ पालिकामा गरी कुल ६५ प्रतिशत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले शुक्रबार भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र कुल ६५ प्रतिशत मत खसेको बताउनुभयो ।

कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता हुन् । तीमध्ये पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ जना मतदाता थिए ।

दिउँसो बर्षाका कारण केही मतदान केन्द्रमा मतदान कार्य लम्बिएको थियो । पोखरामा ३३ वटा वडा छन् । जसमा ९८ वटा मतदान स्थलका २ सय ४२ मतदान केन्द्र तय गरिएको थियो । समग्र कास्कीमा भने १ सय ५० मतदानस्थलमा ३ सय ३६ मतदान केन्द्र थिए ।

मतदान केन्द्रबाट मतपेटिका शुक्रबार रातिसम्म संकलन हुने जनाइएको छ । पोखरा महानगरपालिकामा भने शनिबार बिहान सर्वदलीय बैठकपछि मात्र मतगणना कार्य सुरु हुने पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।