Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


काँग्रेसको आग्रह– विपद्काे समयमा अहङ्कार होइन, संवाद र परिणाममा जोड दिऔँ


104
Shares

काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले रसुवाको भोटेकोशी बाढीपीडित पुनर्स्थापना र नागरिकको पुनर्निमाणको कार्ययोजना तत्काल ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले बाढीबाट घर तथा आफन्त गुमाएका नागरिकको पुनर्स्थापना कहिले र कहाँ हुन्छ र ? भन्नेबारे सरकारले तत्काल जवाफ दिनुपर्ने समेत बताउनुभयो । सचेतक राईले बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी र सरसफाइको अभाव, सङ्क्रामक रोगको जोखिम, खाद्य सङ्कट तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै तत्काल एकीकृत स्वास्थ्य तथा पुनर्स्थापना सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले बाढीमा घर र आफन्त गुमाएका परिवार, रोजगारी गुमाएका युवा तथा महँगीबाट प्रभावित नागरिकले सरकारसँग भाषण र आश्वासन नभई परिणाम र उत्तरदायित्व खोजिरहेको भन्दै सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापनमा शुरुदेखि नै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रतिकार्यमा समस्या भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ सरकारसँग म सोध्न चाहन्छु, पीडित नागरिक अब कहिले, कहाँ बास पाउँछन् ? अनि कति लामो समयपछि तिनको आफ्नै घर हुनेछ र? त्यो समयसम्म ती नागरिकलाई कहाँ र कसरी पुनर्स्थापित गरिनेछ ? हामीसँग पीडामा परेका नागरिकको जिम्मेवारी छ । सरकारलाई म अझै पनि जिम्मेवार हुन र सचेत र संवेदनाका साथ पुनर्स्थापना र पुनर्निर्माणमा जुट्न अनुरोध गर्न चाहन्छु । स्वच्छ खानेपानी र सरसफाइको अभाव, सङ्क्रमण रोग, खाद्य सङ्कट र सबैभन्दा महत्त्वपूर्ण विषय प्रभावित सबैको मानसिक स्वास्थ्यको नाजुक अवस्थातर्फ संवेदनशील बन्नुपर्दछ । जसले आफ्ना परिवारका सदस्य गुमायो, आफ्नो घर गुमायो, आफ्नै आँखा अगाडि आफ्नै सिर्जित सम्पत्ति बगाएर लग्यो, उसको पीडा केवल आर्थिक होइन । त्यसैले स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायले तत्काल मनोसामाजिक परामर्श, स्वास्थ्य शिविर, सरसफाइ, सुरक्षित खानेपानी र रोग नियन्त्रणको एकीकृत योजना बनाइनुपर्छ र त्यसको सञ्चालन र व्यवस्थापनमा कुनै कसर नहुने गरी राज्यको अधिकतम क्षमता परिचालन हुनुपर्दछ । रोशीको बाढीमा घर गुमाएका नागरिकले, आफन्त गुमाएका परिवारले, रोजगारी गुमाएका युवाले, महङ्गीले थिचिएका परिवारले, न्याय खोजिरहेका नागरिकले र भविष्य खोजिरहेको नयाँ पुस्ताले सरकारसँग भाषण होइन, अब परिणाम खोजेको छ ।’

उहाँले सरकारले प्रतिपक्षी दलहरुसँग आवश्यक समन्वय र सहकार्य गर्न नखोजेकोप्रति प्रश्न पनि उठाउनु भयो ।