३० असार २०८२, सोमबार | Tue Jul 15 2025


‘एनआरएनए’ले डेढ करोडको सामग्री सरकारलाई दिने


13
Shares

काठमाडौं, चैत २५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘कोभिड–१९’ (कोरोना भाइरस)को रोकथाम र उपचारका लागि रु डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली संघ कार्यकारी (एनआरएनए आइइएस)को बैठकले कोभिड–१९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट रु एक करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको सामग्री खरिद गरी सरकारलाई हस्तान्तरण गर्ने निर्यण गरेको हो ।

उक्त सहयोग हस्तान्तरणपछि उठ्ने रकम भने विदेशमा नै बस्ने नेपालीको सहयोगका लागि राहतस्वरुप खर्च गरिने संघले जनाएको छ ।

संघले कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सहयोग गर्न विश्वभरका नेपालीमाझ आह्वान गर्दै आएको छ ।

बैठकले संघ क्रियाशील सबै क्षेत्रमा कोभिड–१९ का विरुद्ध लड्न समिति बनाएर नेपालीलाई सहयोग गर्न भएका गतिविधि र घटनासमेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी)लाई निर्देशन दिएको छ ।

यसैगरी, नेपाल सरकारका विदेशस्थित रहेका मिसन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण संघ, संस्था र प्रतिष्ठित र सम्बन्धित व्यक्तिकोसमेत प्रतिनिधित्व हुने गरी समिति बनाउने निर्णयसमेत गरेको छ ।

सोही समितिले सहयोग र उद्धारका लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्नेछ ।

यसका लागि पहल गर्न संघका अध्यक्ष पन्तलाई जिम्मेवारी दिएको संघका सूचना तथा सञ्चार उपसंयोजक कृष्ण केसीले जानकारी दिए ।

एनसीसी साइप्रसको नेपालीलाई राहत ‘प्याकेज’

यसैबीच, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) साइप्रसले कोरोनाभाइरसका कारण अप्ठ्यारोमा परेका त्यहाँ निवासी नेपालीलाई खाद्यान्नलगायत उपभोग्य वस्तुसहितको राहत ‘प्याकेज’ दिने भएको छ ।

विभिन्न पेसा, व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली नियोगको रोहबरमा राहत वितरण गर्न लागिएको उनले जानकारी दिए ।

कोरोनाभाइरसको रोकथाम तथा निराकरणको लागि साइप्रसले आगामी अप्रिल १३ सम्मको लागि ‘लकडाउन’ घोषणा गरेको छ ।

लकडाउनको अवस्थामा नेपाली कामदार र विद्यार्थीलाइ खाद्यान्नलगायतमा समस्या परेको संघले जनाएको छ ।

एनआरएनए साइप्रसलगायत त्यहाँ रहेका स्थानीय संस्थाले अतिजोखिममा परेका विद्यार्थी तथा आयस्रोत नभएका नेपालीलाई लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको छ ।

राहत प्याकेज अप्रिल ८ तारिखबाटै वितरण गरिने छ । राहत प्याकेजमा चामल, दाल, चाउमिन, आलु, प्याज, तेल, सोयाविनलगायत छन् ।

अतिजोखिममा परेका विद्यार्थीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साइप्रसको फेसबुक म्यासेन्जरमा आफ्नो सबै विवरण पेस गर्नुपर्ने छ । रासस