३० असार २०८२, सोमबार | Tue Jul 15 2025


राहत प्याकेजसहित बजेट निर्माणको तयारी


0
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, चैत २४ । कोरोना संक्रमणको त्रास र ‘लकडाउन’का कारण उद्योगधन्दा ठप्प छन् । अर्थतन्त्र खस्किएको छ ।

प्रभावित क्षेत्रको क्षेत्रगत अध्ययन गर्दै राष्ट्रिय योजना आयोगले राहत प्याकेजसहित आगामी वर्षको बजेट निर्माणको तयारी थालेको छ ।

उद्योग, पर्यटन, रेमिट्यान्स, आयात–निर्यात तथा निर्माणको क्षेत्रले कोरोनाका कारण बढी क्षति भोग्नु परेको छ ।

यी क्षेत्रमा परेको असर कम गर्न राष्ट्रिय योजना आयोगले प्रभावका आधारमा राहत प्याकेजसहित बजेट निर्माणको तयारी थालेको छ ।

बजेट निर्माणका लागि आवश्यक तयारी गर्ने, अर्थतन्त्रमा परिरहेको प्रभाव अध्ययन गर्ने तथा आवश्यक कार्यक्रम निर्धारण गर्ने आयोगको क्षेत्राधिकारभित्र पर्दछ । सोहीबमोजिम आयोगका कार्यक्रम तय हुने गर्छन् ।

कोरोनाभाइरसले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्दै विषयगत मन्त्रालयको खर्चको सीमा निर्धारण गरी बजेट निर्माण सुरु गरेको आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए ।

प्रभावित क्षेत्रका लागि राहत प्याकेजसहित आगामी वर्षको बजेटको तयारी गरिरहेको प्रवक्ता शाहीले बताए ।

यतिबेला साना तथा मझौला उद्योगले पनि ठूलो मार खेप्नु परेको छ । त्यस्ता उद्योगलाई पुरानै अवस्थामा ल्याउने गरी बजेटमा राहत प्याकेज ल्याइने प्रवक्त शाहीको भनाइ छ ।

त्यसैगरी, निर्माण तथा सामाजिक क्षेत्रमा पर्न सक्ने प्र्रभावका बारेमा आँकलन गरी स्रोतको बाँडफाँट गरिने उनले बताए ।

राहत प्याकेजलाई प्रभावकारी बनाउन तथ्यांक विभागले पनि तथ्यांक संकलन गर्न थालेको छ ।

कोरोनाको संक्रमणले थलिँदै गएको अर्थतन्त्रलाई उकास्ने गरी आगामी वर्षको बजेट विनियोजन गर्नुपर्नेमा सरोकारवालाले पनि जोड दिँदै आएका छन् ।

भिडियो हेर्नुहोस्