३० असार २०८२, सोमबार | Tue Jul 15 2025


नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त


0
Shares

काठमाडौं, चैत २४ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर रहिसकेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले नै उनलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो ।

बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर बनेका छन् । यसअघि अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डाक्टर राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।

यसैगरी बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई फेरि एकसाता लम्ब्याउने निर्णय गरेको छ । आगामी बैशाख ३ गतेसम्मका लागि लकडाउनको समय थपेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप गरेको एक हप्ताको अवधि पनि भोलि सकिने भएकाले सरकारले आजै वैशाख ३ गतेसम्मका लागि समय थपेको हो ।

यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन)को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।