
-बलराम मैनाली
मानव जीवनमै सायद यस्तो अवस्था आएको थिएन होला । संभवत जंगली अवस्थामा वाघ, भालुलाई मात्र बाँच्न यस्तो अवस्था आएको थियो होला जस्तो अहिले लागिरहेको छ । किनकी मृत्यु बाहिर घुमीरहेछ, बाँच्नलाई हामी ढोका थुनेर वा लुकेर भित्र बसिरहेका छौं । समृद्ध र शक्तिशाली मानिएको बेलायत सरकार नै यस कुरामा गम्भीर रहेको भएपनि मानिसहरु दिनदिनै मरेको देखेर चिन्तित रहेको कुरा चाहीं साँचो हो।
यो लेख तयार पार्दैगर्दासम्म ४३ सय १४ जनाको मृत्यु भइसकेको बेलायतमा ४० हजार बढी भाइरसको शिकारमा छन् । सबैभन्दा धेरै मृत्यु भएको लन्डन घना बस्तीमा रहेको सरकारी तथ्यांकले देखाएको छ । प्रायः नेपालीहरुमा चाहीं यो रोग कम देखिएको छ । तर ढुक्क हुने यहाँ अवस्था छैन। त्राई छ, भय छ, नाजुक छ। यहाँ पुरै देश शोकमा छ ।
पुरै यूकेको दैनिक अवस्था नाजुक हुँदैछ । लक डाउनमा घरमै बसेको पनि दुई साता हुनै लागेछ । संक्रमण बढदो छ। तर अत्यावश्यक सामान किन्न जान पाइन्छ । सुपरमार्केट अहिलेसम्म खुल्लै छन् ।सुपरमार्केटमा मान्छेको लिमिट नुसार भित्र पस्न दिएका छन् । यो दुई मिटरको दुरीमा लाइन कोरिएका छन् र खाद्यन्न अभाव छैन । नेपाली पनि यसै परिधिमा छन् । नियम हराबर बराबर छ। वातावरणविधहरुले लकडाउनसंगै चराचुरुंगी वा पशुपन्छीको स्वभावमा आएको सकारात्मक प्रभाव बारे अत्यन्त दुःख नै प्रकट गरेका छन् । बेलायतमा करिब २० हजार बढी नागरिक हताहति हुने भनेपछि यहाँका नेपाली पनि चिन्तामा छन् ।
यहाँ बेलायतमा अस्पतालले जो बढी बाँच्ने सम्भावना छ उसको सबै उपचार गर्ने प्राथमिकता राख्ने रणनीति लिएछ । सबै अस्पतालमा चाप बढेर मृत्युको सम्भावना बढी देखिएपछि भेन्टिलेटर निकालेर ,अर्को बाँच्ने सम्भावना भएकोलाई प्राथमिकता दिने निर्णय गर्न स्वास्थ्यकर्मीहरुलाई भनिएको रहेछ । त्यसैले यताको अवस्था नाजुक छ। बाहिर हल्ला भएजस्तो खान नपाएकै जस्तो अवस्था चाहीं छैन् ।
यहाँका नेपालीहरु नेपालको पनि चिन्ता लिएर बसेका छन् । परिवार र आफन्तको चिन्तामा छन् । इटाली, स्पेन,बेलायतको जस्तो अवस्था नेपालमा आयो भने कसरी थेग्ने होला रु विदेशमा रहेका नेपाली नेपालकै चिन्तामा छन् । यहा मास्क नलगाउने बिश्व स्वास्थ्य संगठनले दिएको अघिल्लो सल्लाह गलत सावित हुने कुरा आएका छन् । बाहिर हिड्दा मास्कले पनि भाइरस सर्नबाट बचाउन केही हदसम्म मद्दत गर्ने तथ्यहरु पनि प्रशस्त छन् ।
हालसम्म बेलायतमा दुई जना नेपालीको मृत्यु भएको छ । करिब १० जना विरामी परेको पुष्टि भएको छ । हामी अहिलेसम्म सुरक्षित छौं तर सुरक्षित रहुँला भनेर ढुक्क हुने अवस्था बेलायतमा छैन् । हुनत यहाँ ९८ प्रतिशत राजदुतावास बन्द भइसकेका छन तर पनि नेपालीहरुका समस्या सम्बोधन र व्यवस्थापनका लागि नेपाली दुतावास खुल्ला रहेको बताइन्छ । आपतमा परेका विद्यार्थी र नेपालीलाई व्यवस्थापन गर्न नेपाली दुतावासले विभिन्न नेपाली सामाजिक संघसंस्था र एनआरएनए मार्फत आफ्नो काम शुरु गरिसकेको जनाएको छ । यस्तो अवस्थामा सयौंको संख्यामा खुलेका च्यारिटीका नेपालीहरुका संस्थाले गहन भूमिका निर्वाह गर्ने बेला आएको देख्छु । अन्ततः जो जहाँ हुनुहुन्छ आफ्नो ख्याल राख्नु होला । दुताबासले र प्रधानमन्त्री बोरिसले भनेजस्तै ‘स्टे होम, सेभ लाइफ’ भनिनै रहेको अवस्था छ।
प्रतिक्रिया दिनुहोस्