-सन्दीप पौड्याल/ईमेज:
काठमाडौं । राजधानीका तीनवटा प्राचीन सम्पदाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘राइड काष्ठमण्डप टू खोकना’ साइकलयात्रा सम्पन्न भएको छ ।
साइक्लिङ अभियान शुरु भएसँगै खोकना साइक्लिङ गन्तव्यका रुपमा परिचितसमेत भएको छ ।
काष्ठमण्डपबाट शुरु भएको साइकलयात्रा कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, फर्पिङ पावर हाउस, फर्सिडोल, बुङ्मतीहुँदै खोकनासम्म पुगेको हो ।
पर्यटनसँग आवद्ध संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्र्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’ साइकलयात्रा आयोजना गरेका हुन् ।
२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनेका सम्पदा काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माणमा हातेमालो गर्दै बुङमती र खोकना क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका रुपमा विकास गराउन ‘राइड काष्ठमण्डप टू खोकना’ साइक्लिङको आयोजना गरिएको ‘कन्सेप्ट नेपाल’का संयोजक पवन शाक्य बताए ।
गाइजात्राको छेकोमा हरेक वर्ष साइकल यात्रा गरिन्छ । काष्ठमण्डपबाट सुरु भएको साइकल यात्रा विभिन्न बाटो हुँदै खोकना पुग्दा बाजागाजा र अबिरसहित साइकलयात्रीको स्वागत गरिएको थियो ।
करिब २० किलोमिटर दुरीको साइकल यात्राले खोकनाको पुर्ननिर्माणमा ठूलो सहयोग पुगेको ‘खोकना पुनःनिर्माण तथा पुनःस्थापना समितिका अध्यक्ष श्याम महर्जनले बताए ।
साइक्लिङ अभियान शुरु भएपछि खोकना र बुङमती क्षेत्रमा साइक्लिङ गर्ने स्वदेशी तथा विदेशी बढ्दै गएको समितिका अध्यक्ष महर्जनको भनाइ छ ।
यसपालीको चौंथो संस्करणमा करिब दुई सय साइकलिस्ट सहभागी थिए ।
अभियानको प्रवद्र्धक नेपालपर्यटन बोर्ड हो भने सहयोगीहरुमा नेपाल माउन्टेन बाइक एण्ड टुर्स, रैका टुर्स एण्ड ट्रेक्स, हिमालयन म्याप हाउस लगायत छन् ।
खोकनामा आयोजना गरिएको कार्यक्रममा दुई साइक्लिष्टलाई सम्मान पनि गरियो ।
नेपालमा साइक्लिङ पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याउँदै आएका सोनाम गुरुङ र विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान गरिएको हो ।
भूकम्पछि ध्वस्त भएको खोकना अझै पनि पुनःनिर्माणकै चरणमा छ ।
तर खोकनाबासीले यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागतमा कुनै कसर बाँकी राख्ने गरेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्