
काठमाडौं, चैत २० । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यही चैत ४ गते कतार एअरवेजको ‘क्यूआर ६५२’ नम्बरको फ्लाइटबाट आएकी बागलुङ निवासी ६७ वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि गरे ।
उनी स्वदेश आएपछि घरमै ‘क्वारेन्टाइन’मा बसेकी थिइन् ।
यसअघि, चैत ४ गते नै कतार एअरको सोही फ्लाइटबाट नेपाल आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरुको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
१०५ जना ‘आइसोलेसन’मा
देशभर हाल १०५ जना ‘आइसोलेसन’मा रहेको र तीमध्ये १६ जना काठमाडौं र ९९ जना प्रदेशका विभिन्न अस्पतालमा रहेको डा. देवकोटाले जानकारी दिए ।
यस्तै, हालसम्म एक हजार १८४ जनाको स्वास्थ्य परीक्षण भइसकेको र ४३ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र १२ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुँदै गरेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशाला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु भइसकेको भन्दै डा. देवकोटाले बुटवल, सुर्खेत, धनगढी र जनकपुरमा छिट्टै परीक्षण सुरु गरिने जानकारी दिए ।
कोरोना संक्रमित भेटिएका व्यक्तिहरुको सम्पर्कमा आएका अधिकांश व्यक्तिहरुको पहिचान कार्य सकिएको भन्दै अब चाँडै नै सबैलाई पत्ता लगाइने उनको भनाइ थियो ।
११ मुलुकका स्वास्थ्यमन्त्रीहरुसँग अन्तरक्रिया
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार विभिन्न ११ मुलुकका स्वास्थ्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका छन् ।
सामूहिक अन्तरक्रियामा विभिन्न देशका मन्त्रीहरुले कोरोना रोगको उपचारमा आ–आफ्नो देशका अनुभवहरु बाँडेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्