३० असार २०८२, सोमबार | Mon Jul 14 2025


मेडिकल सामग्री लिन ‘वाइडबडी’ जहाज ग्वाङजाओतर्फ


0
Shares

काठमाडौं, चैत २० । छिमेकी मुलुक चीनको ग्वाङजाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को ‘वाइडबडी’ ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।

कोरोनाभाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन ‘चार्टर्ड’ गरिएको सो जहाज ग्वाङजाओ उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर बिहीबारै राति काठमाडौं फर्कने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यसअघि, बुधबार अष्ट्रेलियन र न्यूजिल्यान्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको सहर ब्रिसवन पुगेको निगमको अर्को वाइडबडी जहाज पनि बिहीबारै राति फर्कने उडान तालिका रहेको छ ।

यसअघि, चैत १६ गते निगमको वाइडबडी जहाजले ग्वाङजाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो ।

देश ‘लकडाउन’को अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ ।

चीनका साङ्घाईलगायत गन्तव्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।

मलेसियन जहाजले लग्यो नेदरल्यान्ड्सका नागरिक 

लकडाउनका कारण नेपालमा रोकिएका १२४ जना नेदरल्यान्ड्सका नागरिक घर फर्किएका छन् ।

उनीहरु बिहीबार बिहान मलेसिया एअरलाइन्सको चार्टर्ड जहाजमार्फत् स्वदेश गएका हुन् ।

यसअघि, अष्ट्रेलिया, अमेरिका तथा युरोपका फ्रान्स, जर्मनीलगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्धित मुलुक लगेका थिए 

निगमको वाइडबडीले अष्ट्रेलिया तथा कतार एअरवेजले अन्य मुलुकको चार्टर्ड उडान गरेको थियो ।

आन्तरिकतर्फ केही हेलिकोप्टरको उद्धार उडान र नेपाली सेनाको एक कार्गो उडान हुने विमानस्थलले जनाएको छ । रासस