Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


एसइई परीक्षा आजदेखि सुरु हुँदै, ५ लाख १४ हजार भन्दा बढी परीक्षार्थी सहभागी


104
Shares

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसइई आज (शुक्रबार) देखि सुरु हुँदैछ ।

शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुँदैछ । शुक्रबारदेखि सुरु हुने परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण गएका दुई वर्ष भौतिक उपस्थितिमा परीक्षा हुन नसकेका कारण आन्तरिक मूल्यांकनबाट एसइईको नतिजा प्रकाशित गरिएको थियो।

यस वर्ष भने परीक्षार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागिएको हो । यस वर्ष ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ परीक्षार्थी रहने बोर्डले जनाएको छ।

प्राविधिकतर्फ देशभरभरका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी एसइईमा सहभागी हुँदैछन् । सबै भन्दा बढी परीक्षार्थी काठमाडौंबाट ३६ हजार जना र सबै भन्दा कम मनाङबाट २९ जना रहेका छन्। नेपाल बाहेक जापानबाट पनि परीक्षार्थी सहभागी हुने भएका छन्।

जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययन गरेका १९ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। परीक्षा सञ्चालनका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र र एउटा उपकेन्द्र तोकिएको छ । यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था हटाइएको छ भने जतिसुकै उमेरकाले पनि परीक्षा दिन पाउने भएका छन।

परीक्षाको नतिजा भने आगामी साउनभित्रै प्रकाशित गरिने राष्ट्रिय परीक्षा बाेर्डले जनाएको छ ।