३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सरकारले पठायो २५ ओटा अस्पताललाई पाँच/पाँचओटा पीपीईको पूर्ण सेट


0
Shares

काठमाडौं, चैत १४ । सरकारले काठमाडौभित्रका ६ र काठमाडौंबाहिरका १९ ओटा ‘हब’ अस्पतालहरुमा कोरोनाभाइरसको उपचारमा आवश्यक पर्ने पाँच/पाँचओटा व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई)को पूर्ण सेट वितरण गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालले नियमितरुपमा गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहाकार डा. खेम कार्कीले अस्पतालहरुलाई पीपीई पठाएको जानकारी दिए ।

उनले पीपीईको प्रयोगसम्बन्धी ‘प्रोटोकल’समेत बनाएको जानकारी दिए ।

‘फिवर क्लिनिक’मा आएका बिरामीको परीक्षणका लागि पीपीईको पूर्ण सेट लगाउनु नपर्ने भन्दै डा. कार्कीले कोरोनाले महामारीको रुप लिए एम्बुलेन्सचालकलाई समेत पीपीइ प्रदान गरिने बताए ।

पीपीईको सही प्रयोग गरौं भन्दै सामान्य बिरामीको उपचारमा सबै उपकरण लगाउनु नपर्ने बताए ।

डा. कार्कीले हब अस्पतालका काम गरेका चिकित्सकहरुलाई समेत १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कोरोनाभाइरसको परीक्षण सुरु भएको र पश्चिम क्षेत्रका केही अस्पतालहरुमा समेत सेवा सुरु गरिने बताए ।

यस्तै, हालसम्म ८०२ जनाको स्वास्थ्य परीक्षण भएकोमा तीनजनामा मात्र संक्रमण देखिएको उनले जानकारी दिए ।

संक्रमण देखिएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै डा. देवकोटाले टेकु अस्पतालमा चारजना, पाटनमा ६ जना र कान्ति बाल अस्पतालमा तीनजना ‘आइसोलेसन वार्ड’मा रहेका जानकारी दिए ।

यस्तै, कोरोना संक्रमित दुईजनाको नजिक रहेका व्यक्ति, परिवार र आफन्तहरु मन्त्रालयको प्रत्यक्ष निगरानीमा रहेको र उनीहरुमा कोरोनाभाइरसको लक्षण नदेखिएको सरकारले जनाएको छ ।