२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


चिकित्सक संघद्वारा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आवश्यक पर्ने सामग्री उपलव्ध गराउन माग


0
Shares

काठमाडौं, चैत १४ । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई उपचारमा आवश्यक पर्ने आधारभूत सामग्रीहरु उपलव्ध गराउन माग गरेको छ ।

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न हुने चिकित्सकहरुको जीवन बिमा र स्वास्थ्य बिमा गराई मनोबल बढाउन समेत सरकारलाई आग्रह गरेको छ ।

यस्तै विज्ञप्तिमार्फत संघले उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई ) लाई लिएर सरकारवालाहरुको अभिव्यक्तिप्रति दु:ख व्यक्त गरेको छ ।

संघ, प्रदेश र स्थानीय निकायबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरससम्बन्धि जनचेतना फैलाउन अझ बढी ठोस निर्णय गर्न सरकारलाई आग्रह गरेको छ ।