
काठमाडाैं । नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ । औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन । सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी चार प्रकारका सहकारी संस्थाले मात्र उद्योग खोल्न पाउने बताउँछन् । उनका अनुसार उत्पादक सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी संस्था वा संघ, श्रमिक सहकारी संस्था वा संघ र बहुउद्देश्यीय सहकारी संस्था वा संघले मात्र उद्योग खोल्ने सुविधा पाउने छन् । यसबाहेक अन्य प्रयोजनका निमित्त दर्ता भएका सहकारीले भने आफ्नो क्षेत्राधिकारभित्र रहेर व्यावसायिक काम गर्नुपर्नेछ । “बचत तथा ऋण सहकारी संस्थाले भने उद्योग खोल्न पाउने छैनन् भनेर नियमावलीमै स्पष्टसँग लेखिएकाले उनीहरुले उद्योग दर्ता गर्न पाउने प्रावधान रहँदैन,” महानिर्देशक तिवारीले भने ।
औद्योगिक व्यवसाय नियमावली २०७८ अनुसार उद्योग दर्ता गर्न चाहने सहकारी संघ वा संस्थाले आवश्यक मापदण्ड पूरा गर्नुपर्ने र निश्चित शर्त पालना गर्नुपर्ने व्यवस्था छ । जसमा सहकारी संस्थाको साधारणसभाले उद्योग खोल्ने निर्णय गरेको हुनुपर्ने, उद्योग खोल्ने क्षेत्रको स्थानीय तहले स्वीकृति दिनुपर्ने लगायत रहेका छन् । यस्तै, नियमावली अनुसार सहकारी संस्थाको अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदन, सेयर सदस्यहरूको लगतसहितको विवरण, सहकारी संस्थाको विनियमको प्रतिलिपिलगायतका कागजात अनिवार्य रूपमा उद्योग विभागमा पेस गर्नुपर्नेछ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्