
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीलाई मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध पूरै विश्व एक हुुनु पर्ने बताएका छन् ।
विकसित मुलुकहरूमा नियन्त्रण गरेर विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जाने उनको चेतावनी थियो ।
एक्लाएक्लै लडाइँ पर्याप्त नहुने भन्दै महासचिव गुटरेसले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले २ अर्ब डलर कोषको घोषणा गरेको जानकारी दिए ।
भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर दिने र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्ने उनको भनाई थियो ।
महासचिव गुटरेसले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच विश्व स्वास्थ्य संगठनले परीक्षण, क्वारेन्टाइन र संक्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ ।
कोरोना संक्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै डब्ल्युएचओले विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्